नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) का आदरणीय पास्टर स्व. रोबर्ट कार्थक नेपाली इसाई मण्डलीकोमात्र नभइ सम्पूर्ण नेपाली इसाई जगतको गुरुबा हुनुहुन्छ । उहाँको परमेश्वरप्रतिको प्रेम, सादा जीवन, समर्पित सेवकाइ, आफ्नो मण्डलीबाहेक अन्य मण्डलीका प्रभुका छोराछोरी, सेवक/सेविकाप्रतिको चासो, पे्रम र सद्भावले नै उहाँलाई नेपाली इसाई जगतकै आदरणीय पास्टरको रूपमा स्थापित गर्यो । स्व. पास्टर रोबर्ट कार्थक गुरुबालाई नेपाली इसाई जगतको युगपुरुष भन्दा अत्युक्ति हुने छैन । स्वर्गीय पास्टर रोबर्ट कार्थकको आज ९८ औं जन्मदिन हो । उहाँको जन्मदिनको सम्झनामा स्व. पास्टर गुरुबा रोबर्ट कार्थकको जीवनी तथा उहाँको सेवकाइसम्बन्धी संक्षिप्त विशेष लेख-

पृष्ठभूमि

परमेश्वरको विशाल योजना र अनन्तको उद्देश्यअनुसार नेपालमा सुसमाचारको लागि परमेश्वरले ढोकाहरू खोल्न लाग्नु भएको थियो । मुलुकको सीमानाका विभिन्न सहरहरूमा परमेश्वरले मानिसहरू तयार पार्दै हुनुहुन्थ्यो । प्रार्थनाको उत्तरस्वरूप परमेश्वरको आत्माले भारतको दार्जीलिङ र त्यसका छिमेकी इलाकाहरूमा पनि मानिसहरूलाई नेपालको लागि दर्शन र बोझ हालिदिनु भयो । येशूको सुसमाचार बोकेर नेपाल आउने प्रभुका थुप्रै सेवकहरूमध्ये स्व. पास्टर रोबर्ट कार्थक पनि हुनुहुन्थ्यो । पवित्र आत्माको जागृतिले दार्जीलिङ र त्यस वरपरका धेरै नेपाली भाषीहरूलाई येशूको बलिदानमा पाइने नयाँ जीवन पाउन तयार पार्न लागेको बेला ल्हाछिरिङ कार्थक र रिपू कार्थकले रेनोकमै प्रभु येशू ख्रीष्टलाई पाइसक्नु भएको थियो । पछि रिपू कार्थक पुख्र्यौली घर सिक्किमको रेनोकबाट (रेनोक कालिम्पोङदेखि झण्डै बीस कि.मी. पूर्वतिर पर्छ) कालिम्पोङको एस.यू.एम.आई. (स्कटिस यूनिभर्सिटिज् मिसन इन्स्टिच्यूट) मा अध्ययनार्थ आउनु भयो । त्यहाँ रिपू कार्थकले आफ्नो पढाइ सकेपछि शिक्षण तालिम लिएर भुटानको स्कुलमा पढाउन जानु भयो । झण्डै दुई वर्षपछि त्यहाँबाट फर्केर उहाँ कालिम्पोङ आउनु भयो र पहिले आफैले पढेको एस.यू.एम.आई. स्कूलको प्रयोगशाला विभागको प्रमुखमा नियुक्त भई पढाउन थाल्नु भयो । त्यसपछि विवाह गरेर त्यहीँ स्थायी बसोबास पनि गर्नु भयो ।

जनवरी १०, १९२६ का दिन प्रेमकितको कोखबाट रिपू कार्थकले रोबर्ट कार्थकलाई जेठो छोरोको रूपमा पाउनु भयो । यसरी सामान्य र स्वावलम्बी परिवारमा जन्मेका रोबर्ट कार्थक भविष्यमा परमेश्वरको महान्, समर्पित पास्टरको रूपमा नेपाली ख्रीष्टिय जगतमा उदय हुनुहुनेछ भनेर परमेश्वरबाहेक अरू कसैलाई थाहा थिएन ।

जन्म तथा बाल्यावस्था

नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) लगायत नेपाल र नेपालीदेखि बाहिरका मण्डलीहरू समेत अनवरत सेवा गरी प्रभुको अनन्त विश्राममा प्रवेश गर्नु भएका पास्टर रोबर्ट कार्थकको जन्म साधारण ख्रीष्टियान घरानामै भएको हो । त्यस बेला उहाँका बाजे र बुबाले प्रभुलाई पाइसक्नु भएको थियो । पास्टर गुरुबा रोबर्ट कार्थकको जन्म मावली घर दुरबिन–बमबस्तीमा भएपनि उहाँको बाल्यकाल भने कालिम्पोङ बजारको मिसनलाइनमा बित्यो । मिसन स्कुलका शिक्षक तथा कर्मचारीहरूको आवासगृह बाहुधुरेलाई आजपर्यन्त मिसनलाइन भनेर चिनिन्छ । त्यही ठाउँमा रोबर्ट कार्थक हुर्कनु भयो । त्यहाँ बुबाआमा र भाइबहिनीहरू सबै गरी नौ जनाको ठूलो परिवार साथै अरू आफन्तहरू पनि थिए । स्कुलको कमाइले मात्र परिवार धान्न नसक्ने भएकोले स्कुल सकेपछि बुबाले घरघरमा गएर ट्यूसन पढाउन थाल्नु भयो । त्यो ट्यूसनबाट आएको थोरै पैसा र स्कुलको तलबबाट ठूलो परिवार चलाउनु पर्ने बाध्यता थियो । एल्डरका छोरा रोबर्ट कार्थकको मिजासिलो बालापनले धेरैलाई आशिषमा डोर्याउनेछ र उहाँ परमेश्वरको शक्तिशाली हतियार बन्नुहुनेछ भन्ने कुराको झल्को नदिए पनि परमेश्वरको विधानमा त्यो कुरा पहिल्यै लेखिएको थियो ।

रोबर्ट गुरुबाले बाल्यकालमा आर्थिक कठिनाइको सामना गर्नु पयो । तर पनि यो परिवारमा परमेश्वरको आशिष, अनुग्रह भएको कारण लाउन–खान कहिल्यै पनि अभाव भएन । थुप्रै आयस्रोत, परमेश्वरको थोरै आशिष्भन्दा थोरै आयस्रोत, प्रशस्त आशिष् भएको थियो । पास्टर रोबर्ट गुरुबाको परिवार प्रत्येक दिन बाइबल अध्ययन गर्ने, प्रार्थना, संगति गर्ने, प्रभुलाई सधैं सबै कुरामा पहिलो स्थान दिने धार्मिक वातावरण भएको परिवार थियो । सानैदेखि यही वातावरण भएको पारिवारिक पृष्ठभूमिमा उहाँ शारीरिक, मानसिक र आत्मिक रूपमा हुर्कनु भयो । बुबाले प्रत्येक दिन घरका सबै सदस्यहरूलाई भेला गराएर प्रार्थना गर्ने, बाइबलबाट सिकाउने गर्नुहुन्थ्यो । अलि ठूलो भएपछि बुबाले जेठो छोरो रोबर्टलाई मण्डलीको बाल संगतिमा पठाउन थाल्नु भयो ।

आमा गाउँमा जन्मेर बढेकी साधारण गाउँले हुनुहुन्थ्यो । उहाँलाई आफ्नो घरपरिवार र नजिकका छरछिमेकहरूबाहेक अरूले त्यति चिन्दैनथे । तर आमाले ठूलो परिवारलाई राम्ररी सम्हाल्नु भयो र परमेश्वरको अनुग्रहले आफ्ना छोराछोरीहरूलाई सानैदेखि प्रभुको वचनमा दह्रयाउनु भयो । उहाँ प्रेमी, दयालु साथै उदार स्वभावको हुनु भएकोले रोबर्ट कार्थकले बाल्यावस्थाको सुरुदेखि नै न्यानो मातृत्व, प्यार र वास्ता मनग्गे पाउनु भएको थियो । बुबाले पनि सबै छोराछोरीहरूलाई यही किसिमको स्नेहमा हुर्काउनु भएको
थियो । आमाले छोराछोरीको स्वास्थ्यको बारेमा धेरै चासो राख्नुहुन्थ्यो किनभने रोबर्ट कार्थक दश वर्षको हुँदा उहाँका दुई दिदीहरूको चौबीस घण्टाभित्रै मृत्यु भएको थियो । यो दुःखद् घटनाले परिवारका सबैलाई ठूलो चोट पुर्याएको थियो, विशेषगरी बुबाआमालाई । आमाले आफ्ना परिवारलाई मात्र होइन वरपरका छरछिमेकका स–साना केटाकेटीहरू सबैलाई उत्तिकै वास्ता गर्नुहुन्थ्यो । जतिखेर, जसका नानीहरू आए पनि खानेकुरा बाँडेर खुवाउनु पर्छ, दिनु पर्छ भन्ने खुल्ला हातको र घरमा सधैं सबैलाई स्वागत गर्नुहुन्थ्यो । आमाको यस्तो मायालु स्वभाव भएको कारण त्यो समयमा गाउँघरका धेरै छिमेकी केटाकेटीहरू उहाँको घरमा आउनेजाने र रमाउने गर्दथे । रोबर्ट गुरुबालाई वरपरका आफ्ना दौंतरीहरूसँग खेल्न, घुम्न, रमाइलो गर्न खुब रहर लाग्थ्यो । वरपरका साथीहरूसँग जान, घुलमिल हुन, खेल्न बुबा र आमाबाट कुनै रोकटोक थिएन ।

रोबर्ट गुरुबालाई घरका सबैले ठूलो भनेर बोलाउँथे । उहाँको नामको मात्र होइन, व्यवहार पनि ठूलै थियो । उहाँ सानैदेखि मिलनसार, सरल, इमानदार र सहयोगी हुनुहुन्थ्यो । उहाँको माया सबै साथीहरूलाई समान थियो । सबै साथीहरूले रोबर्ट कार्थकलाई प्रिय मान्थे । गुरुबा सानो छँदा गाउँका कति साथीहरूसँग कालिम्पोङबाट रेल हेर्न प्रायः बाह्र माइल टाढा रेल स्टेसन पैदलै जानु भएको थियो । जीवनमा पहिलो पल्ट रेल देखेर उहाँहरू दङ्ग पर्नु भएको थियो । घरको ठूलो छोरो हुनु भएकोले घरबाट कतै जानु पयो भने बुबाले सधैं रोबर्टलाई नै साथमा लानुहुन्थ्यो । एक पल्ट बुबाले उहाँलाई छिमेकी गाउँमा रेडियो देखाउन लानु भयो र जीवनमा पहिलो पल्ट रेडियो देख्दा उहाँ अति नै आश्चर्यचकित हुनु भयो । अचम्म किसिमले रेडियोबाट आवाज आउँदा उहाँ त दङ्ग पर्नु भएको थियो ।

यसरी कालिम्पोङको रमाइलो वातावरण र परिवारको मीठो मायामा हुर्कंदा रोबर्ट कार्थकले मण्डली जाने र बाइबल पढ्ने कुरालाई रीतिविधानको रूपमा मात्रै मानिरहनु भयो । बाल संगतिमा सिकेका कुराहरू उच्च कोटीका नैतिक शिक्षाहरू मात्रै बन्न पुगे । तर परमेश्वरले यी सबै परिस्थितिहरूलाई आफ्नै उद्देश्यको लागि प्रयोग गर्दै हुनुहुन्थ्यो । पास्टर रोबर्ट कार्थकको परिवार सम्पन्न थिएन । उहाँको बाल्यावस्था सामान्य थियो । मण्डलीमा नयाँजन्म नपाएका ख्रीष्टियानहरूको जमात थियो । रोबर्ट गुरुबाको बुबाको स्वास्थ्य खस्कँदै गएपछि घरमा हुने बाइबल अध्ययन नियमित हुन सकेन ।

किशोरावस्था र शिक्षा

आमाको काखले पहिलो नैतिक शिक्षा रोबर्ट गुरुबालाई दियो भने बुबाको काँधले पनि उहाँलाई कखरादेखि नै बलियो बनायो । उहाँका बुबा आफैं स्कुलको शिक्षक हुनु भएकोले गुरुबाको प्रारम्भिक शिक्षा–दीक्षा बुबाबाटै सुरु भयो । पाँच वर्षको भएपछि, उहाँ बुबाले पढाउने एस.यू.एम.आई. स्कुलमा पढ्न जानु भयो । त्यो समयमा उक्त स्कुल नामी स्कुल थियो । पढाइ स्तरीय र अनुशासनमा पनि त्यति नै कडा थियो । स्कुलमा विद्यार्थीहरूको पढाइको साथै उनीहरूको चारित्रिक विकासको समेत राम्रो ध्यान दिइन्थ्यो । हरेक विद्यार्थी अनुशासनमा संवेदनशील बन्नुपर्थ्यो । त्यो स्कुल मिसन स्कुल भएकोले हरेक विद्यार्थीले स्कुलमा बाइवल पाठ, प्रार्थनामा भाग लिनुपर्थ्यो । त्यस्तो मौका उहाँले स्कुलमा पनि पाउन भएकोले परमेश्वरको ज्ञानमा बढ्न थप सहायता पुग्न सक्यो । परमेश्वरले उहाँलाई यसरी सानैदेखि आफ्नो सेवाको लागि तयार पार्न लाग्नु भएको थियो । रोबर्ट गुरुबाको सानैदेखि नै बायाँ हातले लेख्ने बानी थियो । स्कुलका शिक्षकहरूले उहाँले बायाँ हातले लेखेकोले औंलाका बिचमा पेन्सिल राखेर चेपिदिन्थे वा पिट्थे । बायाँ हातले लेखेकोमा शिक्षकहरूले उहाँलाई निकै सताए । यसको कारण रोबर्ट कार्थकले धेरै पटक स्कुलको कक्षा छुटाउनु भयो । घरबाट स्कुल जान्छु भनेर पनि स्कुल जानु भएन । स्कुलका शिक्षकहरूले पिटेको, गाली गरेको कुरा घरमा गरे भने रोबर्टका बुबाले उल्टै थपिदिनुहुन्थ्यो । रोबर्ट गुरुबाको पढाइ सामान्य खालको थियो । कक्षामा प्रायः दोस्रो/तेस्रो हुनुहुन्थ्यो। बुबाको स्वास्थ्य समस्याले उहाँको पढाइमा निकै बाधा पुगेको थियो । उहाँ आफ्नो कक्षामा सबैभन्दा कान्छो हुनुहुन्थ्यो । उमेरमा कान्छो, सरल, इमानदार स्वभावको भएकोले उहाँले स्कुलमा आफ्ना गुरु र साथीहरूबाट प्रशस्त माया, सद्भाव र स्नेह पाउनु भयो । अनुशासित, जेहेन्दार र पढाइप्रति लगनशील साथै तीक्ष्ण बुद्धिको भएकोले उहाँले आफ्नो पढाइमा चाँडै प्रगति गर्दै जानु भयो । ट्युसन पढ्न आर्थिक हैसियत नभए पनि हरेक वर्षको स्कुलको जाँचमा उहाँले राम्रो परिणाम ल्याउनुहुन्थ्यो ।

रोबर्ट गुरुबाले कक्षा आठमा पुगेपछि स्कुल छुट्टी हुनासाथ बुवासँगै घरघरमा गएर ट्युसन पढाउन थाल्नु भयो । ट्युसन पढाउन जान झण्डै साढे दुई माइल हिँड्नु पर्थ्यो  । स्कुलको समयमा आफ्नो पढाइ, अरू बेला बुबालाई ट्युसनमा सहायता गर्नु पर्दा आफ्नो दैनिक अध्ययनलाई अगाडि बढाउन धेरै गाह्रो भयो । तर पनि उहाँले १७ वर्षको उमेरमा द्वितीय श्रेणीमा म्याट्रिक (अहिलेको एस.ई.ई.) उत्तीर्ण गर्नु भयो। परिवारमा उहाँ नै जेठो छोरो हुनु भएकोले यो सफलता सम्पूर्ण परिवारका लागि ठूलो हर्षको कुरो
थियो । स्कुलबाट म्याट्रिक पास भएपछि, उहाँलाई यही नै गर्नु पर्छ वा बन्नु पर्छ भन्ने कुरामा परिवारको कुनै दबाब थिएन तर क्याम्पसमा विज्ञान विषय लिएर भविष्यमा डाक्टर बन्ने धेरै ठूलो इच्छा उहाँको थियो । घरको जेठो छोरो साथै ठूलो परिवार, बुबाको कमजोर स्वास्थ्य अवस्थाको कारण परिवारको भार उठाउनुपर्ने भएकोले उहाँले आफ्नो पढाइलाई अगाडि बढाइरहन सक्नु भएन। साथै त्यति बेला दोस्रो विश्वयुद्ध चलेको कारण संसारभरि त्रास फैलिएको थियो । विशेषगरी आर्थिक क्षेत्रमा युद्धको ठूलो प्रभाव परेको थियो ।

नोकरीमा प्रवेश

केही समयपछि रोबर्ट गुरुबाले आफूले पढेकै स्कुलमा शिक्षक चाहिएको छ भन्ने खबर पाउनु भयो र निवेदन दिनु भयो । उहाँलाई शिक्षकको नियुक्ति दिइयो। उहाँको मासिक तलब २० रुपैयाँ थियो । यसले उहाँको परिवारलाई केही मात्रामा राहत पुग्यो । त्यहाँ उहाँलाई बाइबल र गणित विषय पढाउने जिम्मा दिइएको थियो । त्यो स्कूलमा विद्यार्थी बनेर पहिले झण्डै दश वर्ष बिताइसक्नु भएकोले उहाँको लागि त्यो ठाउँ पुरानो तर जिम्मेवारी भने नयाँ थियो । पढाउन कुनै विशेष अनुभव साथै तालिम नभएको कारण सुरुका दिनहरूमा उहाँले धेरै मेहेनत गर्नु पर्यो । पछिबाट यस क्षेत्रमा उहाँलाई दक्षता र अनुभव हासिल हुँदै गयो । यसरी रोबर्ट कार्थक अब ठिटोबाट परिपक्व र जिम्मेवार व्यक्ति बन्न लाग्नु भएको थियो । स्कुलमा काम सुरु गरे पनि उहाँको क्याम्पस पढ्ने धोको अझै मरिसकेको थिएन र उहाँ कुनै न कुनै तरिकाले आफ्नो पढाइलाई बढाउँदै लैजान चाहनुहुन्थ्यो । अर्कोतिर उहाँ स्कुलको जागिरे हुनु भएको कारण कलेज भर्ना भएर पढ्ने कुनै सम्भावना पनि थिएन । आफ्नो शैक्षिक योग्यतालाई बढाउन उहाँको लागि एउटै मात्र विकल्प थियोः प्राइभेट (घरैमा पढेर जाँच दिनु । उहाँका कति जना साथीहरूले पनि उहाँलाई पढाइ जारी राख्न उत्साह दिइरहेका थिए । त्यसकारण उहाँले प्राइभेटबाट आई.ए. को पढाइ सुरु गर्नु भयो । अन्ततः सन् १९४९ मा उहाँले आई.ए. पहिलो श्रेणीमा उत्तीर्ण पनि गर्नु भयो । उहाँले स्कुलमा पढाउन थाल्नु भएपछि एक पटक पुलिस इन्सपेक्टर स्कलमा आएर एक जना विद्यार्थीले बायाँ हातले लेखेको देखेर हप्काए । तर प्रिन्सिपलले रोबर्ट गुरुबालाई देखाउँदै “शिक्षकले नै बायाँ हातले लेखेपछि विद्यार्थीले त लेख्ने नै भयो” भने । इन्सपेक्टर हाँसे मात्रै । त्यसपछि जागिरको लागि रोबर्ट गुरुबालाई अझ ठूलो मौका मिल्यो । प्रहरीको अधिकृत (सब–इन्सपेक्टर) पदका लागि भर्ना लिइने त्यो परीक्षामा उहाँले पनि निवेदन दिने इच्छा गर्नु भयो र फाराम बुझाउनु भयो । जनजाति समूह अन्तर्गतको भएकोले उहाँ सजिलैसँग सो अन्तर्वार्तामा सफल हुनु भयो तर नियुक्तिपत्र बुझ्न जाने बेलामा उहाँलाई त्यो जागिर खाने मनै लागेन र त्यसलाई त्यत्तिकै छोडिदिनु भयो । त्यसरी त्यत्तिकै छोडिदिएकोमा उहाँलाई कहिल्यै पछुतो लागेन । परिवारले पनि उहाँलाई त्यसमा कुनै कर लगाएन । आफ्नै सेवाको निम्ति नै परमेश्वरले उहाँलाई छान्नु भएकोले उहाँको अभिप्राय पूरा हुनु पर्ने थियो । कुनै तालिम नलिए पनि रोबर्ट कार्थकले १२ वर्ष शिक्षणको काम गर्नु भयो । यो उहाँको लागि परमेश्वरको सेवा गर्न तालिमको समय रहेछ ।

मण्डलीको सेवामा

बाल्यावस्थादेखि नै रोबर्ट गुरुवाले घरपरिवारको दैनिक बाइबल अध्ययन तथा संगति, मण्डलीको साप्ताहिक बाल संगति र त्यसपछि मिसन स्कुलमा पहाड़ सुरु गरेपछि स्कुलको दैनिक बाइबल कक्षाहरूमा परमेश्वरको वचनबाट धेरै शिक्षा पाइसक्नु भएको थियो । उहाँको बाल मस्तिष्कमा परमेश्वरको वचनको गहिरो छाप परेको थियो । यसरी उहाँले जीवनको सुरुदेखि नै परमेश्वरको वचनमा हुर्कने मौका पाउनु भएको थियो । त्यो कलिलो उमेरमा उहाँले परमेश्वरलाई साँचो प्रकारले नचिने पनि परमेश्वरले उहाँलाई अघिबाटै चिनिसक्नु भएको थियो र त परमेश्वरले उहाँलाई विभिन्न परिस्थितिहरूबाट अगुवाइ गर्दै ल्याउन भएको थियो । परमेश्वरले आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, मानिसको योजनाअनुसार होइन । त्यही परमेश्वरको महान् योजनाअनुसार अब उहाँलाई आफैं सिक्ने साथै अरूलाई पनि सिकाउने धेरै अवसरहरू मिल्न थाल्यो ।

रोबर्ट कार्थकको बुबा आफैँ पनि मण्डलीको एल्डर हुनुहुन्थ्यो । गुरुबाले युवाहरूको अगुवाको रूपमा आफ्नो मण्डलीका केही युवाहरूलाई बाइबल कक्षा दिन थाल्नु भयो । त्यही समयमा मिसन स्कुलका कति विद्यार्थीहरूलाई पनि बाइबलबाट पढाउने मौका उहाँलाई मिल्यो । उहाँलाई जिम्मा दिइएका ठाउँहरूमा बाइबल पढाउनु पर्ने भएकोले पाठ तयार गर्न उहाँ आफैले पनि धेरै बाइबल पढ्नु पर्दथ्यो। त्यसकारण उहाँलाई विस्तारै बाइबलप्रति रुचि बढ्दै जान थाल्यो । जहाँ, जति बेला फुर्सद हुन्थ्यो, उहाँले बाइबल पढ्न थाल्नुहुन्थ्यो । तर पनि साँचो जीवनमा परमेश्वरको ज्ञानमा वृद्धि हुन नभई शिक्षणको लागि मात्रै यो अध्ययन थियो। येशू प्रभुलाई आफ्ना प्रभु र मालिकको रूपमा ग्रहण गर्न यो तयारी बन्यो ।

नयाँजन्म, साँचो जीवन

यसरी बाइबललाई प्रेम गरे पनि येशू खीष्टलाई साँचो प्रकारले नचिनेको कारण येशू ख्रीष्टप्रति गुरुबाको कुनै चासो नै थिएन। उहाँ ख्रीष्टियान घरानाको हुनु भएको कारण ख्रीष्टियान रीतिविधिमा सीमित हुनुहुन्थ्यो । साथै स्कुलमा पनि विद्यार्थीहरूलाई बाइबल पढाउनुहुन्थ्यो तर आफैँले नयाँजन्म नपाएको हुनाले ती सवै धार्मिक विधिमा मात्र सीमित थिए। रोबर्ट गुरुवाको मण्डलीमा पनि धार्मिक रीतिविधिबाहेक नयाँजन्मका बारेमा कहिल्यै शिक्षा दिइँदैनथ्यो । ख्रीष्टियानहरूले राम्रो गर्नु पर्छ, साँचो बोल्नु पर्छ, ठग्नुहुँदैन, सबैको भलो गर्नु पर्छजस्ता नैतिक शिक्षाहरू मात्र मण्डलीमा दिने अत्यन्तै निकट सहयोगी र परिपूरकका रूपमा रहे। डा. राजेन्द्र र पास्टर रोवर्ट गुरुबाको मित्रता र सहकार्यले नेइमको जग राख्ने काम मात्रै गरेन तर नेपालभित्र र बाहिर ख्रीष्टियान समुदायको लागि उहाँहरू उदाहरणीय मित्रताको जोडी बन्तु भयो । पा.डा. राजेन्द्रले नेपाल देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भयो र नेपाल देशमा येशूको गवाही बन्नु भयो ।

येशू प्रभुलाई मुक्तिदाता र प्रभु भनी ग्रहण गरेको जोसमा स्कुलको कक्षामा आफ्ना विद्यार्थीहरूलाई कक्षाको काम दिएर उहाँचाहिँ बाइबल पढ्न थाल्नुहुन्थ्यो। एक दिन उहाँले कक्षाभित्र त्यसरी बाइबल पढ्दै गर्दा परमेश्वरले उहाँलाई भन्तु भएछ, “तैंले समय चोर्दैछस् किनकि यो समय तेरो बाइबल पढ्ने समय होइन, काम गर्ने समय हो । यो समयमा तैंले काम गर्नु पर्छ ।” परमेश्वरको हप्काइ पाएपछि त्यस दिनदेखि उहाँले कहिल्यै त्यसो गर्नु भएन ।

नयाँजन्म भएपनि ती जोशिला युवाहरूलाई हुर्काउने कोही थिएन। मण्डलीले त येशूको रगतलाई मूर्ति बनायौ भनेर विरोध गरेकै
थियो । तत्कालीन मण्डलीले त रोबर्ट कार्थकले चलाएको बाइबल अध्ययनमा नजान आफ्ना युवाहरूलाई र नपठाउन अभिभावकहरूलाई सूचना नै सुनाएको थियो । यसरी प्रेस्बिटेरियन परिवारमा जन्म लिएपछि प्रेस्बिटेरियन मण्डलीमै रहेर अनि प्रेस्बिटयरियन शिक्षामै रोबर्ट कार्थकको बाल्यकाल र किशोरावस्था बित्यो ।

२१ वर्षको उमेरमा एलसद्दाईका प्रचारक जोर्डन चन्नन् खाँद्वारा येशू प्रभुलाई मुक्तिदाताको रूपमा चिन्नु भयो । पुरानै मण्डलीमा रहेर त्यहाँका प्रभुलाई नचिन्ने भाइबहिनीहरूलाई प्रभु चिनाउने विचार लिएर एलसद्दाईको संगतिमा रोबर्ट गुरुबाले नजाने नै निश्चय
गर्नुभयो । तर प्रभुलाई पाएपछिका केही दिनहरू एलसद्दाई (त्यति बेला यहोवा निस्सी नाउँले चिनिन्थ्यो) संगतिमा रोबर्ट गुरुबाले बिताउनु भयो । आफ्नो प्रश्नको उत्तर नपाएसम्म कुनै कुरामा गुरुबाले विश्वास गर्नुहुन्नथ्यो । येशूलाई विश्वास गर्न पनि उहाँले निकै समय लिनु भयो र विश्वासमा आइसकेपछि उहाँले कहिल्यै पछि फर्केर हेर्नु भएन ।

त्यही समयमा अर्थात् सन् १९४७ मा सुश्री एलिजाबेथ फ्र्यांकलिन विहारको मोतिहारीबाट कालिम्पोङ आइन् । उनी रिजन बियोण्ड मिसन यूनियन (Reason Beyond Mission Union) सँग सम्बन्धित थिइन् । नेपालमा गएर कन्या पाठशाला खोल्ने र प्रभुको सेवा गर्ने उनको दर्शन थियो । यर्थाथमा कालिम्पोङमा भर्खरै नयाँजन्म पाएकाहरूलाई प्रभुमा हुर्काउन परमेश्वरले नै उनलाई त्यो ठाउँमा ल्याउनु भएको थियो । उनले त्यहाँ भर्खरै नयाँ जन्मपाएका रोबर्ट गुरुबा लगायत अन्य थुप्रै व्यक्तिहरूसँग सम्पर्क राखिन् र तिनीहरूको स–साना झुण्ड बनाएर बाइबलबाट सिकाउन थालिन् । नयाँजन्म पाएपछि त्योअनुसारको राम्रो शिक्षा बाइबलबाट दिएको कारण ती झुण्डहरूको निम्ति उनी संजीवनी बनिन् । उहाँहरू प्रभुमा बिस्तारै हुर्कंदै, बढ्दै जान थाल्नु भयो । त्यो शिक्षाबाट उहाँहरूको व्यक्तिगत जीवन धेरै प्रभावकारी बन्न पुग्यो ।

इस्टर्न हिमालयन चर्च काउन्सिलले चलाएको महिला विद्यालयबाट मार्गरेट ह्याभिङ्टन बिदा हुनु भएपछि मिस एलिजाबेथ फ्र्यांकलिनले नयाँजन्म पाएकाहरूलाई प्रभुको सेवाको बारेमा विशेष जोड दिएर सिकाउन थालिन् । वरिपरिको ठाउँमा मात्र होइन, टाढा–टाढाका देशहरूमा गएर पनि प्रभुको सेवा गर्नु पर्छ, संसारका विभिन्न ठाउँहरूमा गएर प्रभुको सेवा गर्ने सेवकहरू प्रभुलाई चाहिएको छ भनेर सिकाइन् । यस्तो सिकाइको निचोड हामी परमेश्वरको मिसनेरी बन्नु पर्छ भन्ने थियो । परमेश्वरले नेपालको भविष्यको लागि पृष्ठभूमि तयार गर्दै हुनुहुन्थ्यो । परमेश्वरले योजनासहित काम गर्नुहुन्छ भन्ने कुराको यो भरिलो उदाहरण हो ।

त्यो बेलाको मण्डलीमा इश्वी यत्न (Christian Endeavour) नामको ख्रीष्टियन युवाहरूको समूह पनि मण्डलीमा सक्रिय
थियो । नेपाल आउने टोलीका प्रायः सबै यस झुण्डसित आवद्ध थिए । पास्टर गुरुबासँग स्वर्गीय डा. राजेन्द्र रोंगोंगको पहिलो भेट सन् १९४६ मा भएको हो। राजेन्द्र रोंगोंगलाई पहिलो पटक भेट्दा नै गुरुबाले धेरै माया देखाउनु भयो । परमेश्वरले यो जोडीलाई नेपाली मण्डलीको निम्ति प्रयोग गर्न यसरी भेट गराउनु भयो। गुरुबाले “भाइ” भनेर गरेको सम्बोधनले राजेन्द्रलाई छोयो । उनले घरमा आमा सूर्यमतीलाई भने, “आमा, मैले दाइ भेटेको छु ।” कालान्तरमा यो जोडीको पारिवारिक सम्बन्ध नै भयो ।

मेरा अरू भेडा पनि…

हाल नेइमका पास्टर दफ्तन सादा नवौं कक्षाको विद्यार्थी हुँदा उहाँको बालसंगतिको शिक्षक रोबर्ट कार्थक हुनुहुन्थ्यो । पा. दफ्तनलाई व्यक्तिगत रूपमा प्रभु येशू चिनाउने काममा रोबर्ट गुरुबाको मुख्य भूमिका थियो । यसरी पा. दफ्तनले किशोरावस्थाको उत्तरार्द्धमा एउटा युवा सम्मेलनको बेला अर्थात् ११ अक्टोवर, १९५२ को दिन साँचो पश्चात्ताप गरेर येशूबाट सम्पूर्ण पापको क्षमा, साँचो शान्ति पाउनु भयो ।

प्रभुलाई प्राप्त गरेपछि पा. दफ्तन प्रभुमा मानिसहरूलाई थप्न जोडदार प्रभुको सेवाको निम्ति नेपाल आउने कुरो रोबर्ट गुरुवाको निम्ति त्यति सजिलो थिएन, नेपालमा आएर प्रभुको सेवा गर्न आफ्नो मण्डलीबाट कुनै सहयोग वा उत्साह थिएन । साथै आफनो घरमा बुबाको स्वास्थ्यको अवस्था ज्यादै नाजुक थियो, घरको जेठो छोरा, घर व्यवहार चलाउनु पर्ने, भाइबहिनीहरू सबै अध्ययन गरिरहेका थिए ।

ती अप्ठ्यारा परिस्थितिहरूको बीचमा नेपालमा प्रभुको सेवा गर्न आउन ज्यादै ठूलो मूल्य चुकाउनु पर्थ्यो। तर पनि उहाँले आफ्नो अस्वस्थ बुवालाई आफ नेपालमा सेवा गर्न आउने कुरा बताउनु भयो । बुबाले प्रभुको बोलावट हो भने जाऊ भनेर अनुमति दिनु भयो । यसरी हेर्दा रोबर्ट कार्यकको असहज परिस्थितिमा पनि परमेश्वरले आफ्नो महिमाको लागि त्यो पारिवारिक पृष्ठभूमिलाई प्रयोग गर्नु भयो ।

अब मिस फ्र्याकलिनले ती युवाहरूलाई सुसमाचार प्रचारको लागि विभिन्न गाउँ-गाउँमा लान थालिन् । ती जोसिला युवाहरू पनि अझ हौसिंदै सेवाको लागि अझै समर्पित र परमेश्वरको लागि झनै कामलाग्दो बन्दै गए । पास्टर गुरुबा रोबर्ट कार्थक र पा. राजेन्द्र रोगोंग फ्रयांकलिनसँग विभिन्न ठाउँमा सुसमाचार प्रचारको लागि जानुहुन्थ्यो । सन् १९५० मा दुवै जना सक्रिय भएर सुसमाचारीय सम्मेलन आयोजना गरे । त्यसमा बेथेल भन्ने छाप्रो बनाएर चौबीस घण्टा प्रार्थनामा समय बिताए । प्रार्थनाको जगमा नै सेवकाइ हुन्छ, भन्ने कुरा उहाँहरूलाई त्यो बेलै अवगत थियो । रोबर्ट कार्थक गुरुबा र राजेन्द्र रोगोंग गुरुबाले आफ्नै घरको छेउमा पनि छाप्रो बनाएर कयौं रात प्रार्थनामा बिताउनु भएको थियो ।

सन् १९५५ मा उहाँले स्कुलबाट राजीनामा दिनु भयो र नेपाल आउने तयारीमा जुट्नु भयो । उहाँलगायत अरू पनि दौंतरीहरूको एउटा समूह तयार भयो । नेपाल आउने मिति पनि तोकियो । नेपालमा पुगेपछि गर्नु पर्ने जिम्मेवारीको बॉडफॉड सबैलाई दिइएको थियो। रोबर्ट गुरुबाले चाहिँ विश्वासीहरूको गोठालोको काम सम्हाल्ने जिम्मा लिनु भयो । कन्या स्कुल खोल्ने कामको सिलसिलामा सुश्री फ्याङ्कलीन भने पहिले नै काठमाडौं आइसक्नु भएको थियो ।

यसरी ११ जनाको समूहले कालिम्पोङलाई छोडेर हिमालयन फ्रि चर्चको बिदाइ समारोहपछि फेब्रुअरी २९, १९५६ मा आफनो जीवनको विशेष यात्रा सुरु गयो । उहाँहरू सिमराबाट हनुमान भन्ने जहाजमा प्रति व्यक्ति रु. १७ भाडा तिरेर सन् १९५६ मार्च ३ तारिख काठमाडौं आइपुग्यो । परमेश्वरले यस्तो अचम्मको र साधारण सुरुवात गरेर नेपालको मण्डलीलाई अहिलेका अवस्थामा ल्याउनु भएको हो ।

यसरी मिसन एलिजाबेथ फ्रयाङ्लीनले नै प्रभुलाई भर्खरै मात्र ग्रहण गरेका ती विश्वासमा कलिला युवाहरूलाई प्रभुमा हुर्काउने काम गरिन् । मिस फ्रयांकलिनले उनीहरूलाई मसीही जीवनका आधारभूत कुराहरू नसिकाएकी भए र नेपालमा प्रभुको सेवा गर्न नडोर्याइएकी भए त्यो युवाहरूको जमात आफ्नो जन्मभूमि छोडेर नेपाल आउने नै थिएन । नेपाली इसाई मण्डलीको लागि मात्रै होइन, सम्पूर्ण नेपाली मण्डलीको लागि पनि मिस फ्रयाङ्कलिन विश्वासकी आमा बनिन् ।

सुसमाचार फैलाउन

नेपाल आउने दिन जति नजिकिँदै थियो, त्यति वृद्ध बुबाको स्वास्थ्य खराब हुँदै गयो । त्यो अवस्थामा बुबालाई छाडेर हिँडिहाल्ने कुरो पनि भएन । गुरुबाले आफ्ना बुबाआमालाई औधी आदर गर्नुहुन्थ्यो किनभने बुबाआमाले सबै छोराछोरीहरूलाई धेरै दुःख उठाएर हुर्काउनु भएको थियो । स्कुलको राम्रो जागिर छोडी बिरामी बुबालाई हेरचाह गर्नुको सट्टा छोडेर जाने कस्तो खालको छोरो होला भनेर मानिसहरूले कुरा काट्न थाले । जताततैबाट नेपाल नजाने सल्लाह आउन थाल्यो । त्यो अवस्थामा जाने कि बस्ने भनेर उहाँ दोधारमा पर्नु भयो । त्यस्ता कुराहरू सुनेर र बुबाको त्यो हालत देखेर नजाने कि भन्ने विचार पनि गर्नु भयो । त्यो अवस्थामा उहाँले मान्छेको कुरा सुन्ने कि परमेश्वरको कुरा सुन्ने, अब तुरुन्तै निर्णय गर्नु पर्ने अवस्था आयो । तर परमेश्वरको अनुग्रहको हात उहाँमाथि रहेको कारण नेपाल आउने नै निर्णय गर्नु भयो । मान्छेका कुराले साथै बुबाको बिरामी अवस्थाले परमेश्वरको त्यो महान् बोलावटलाई रोक्न सकेन र सन् १९५६, फेब्रुअरी २९ का दिन उहाँ र उहाँको झुण्ड कालिम्पोङबाट नेपालको लागि प्रस्थान गयो । सन् १९५६, फेब्रुअरी २८ का दिन कालिम्पोङमा आयोजना गरिएको बिदाइ कार्यक्रममा त्यहाँ वरपरका थुप्रै मानिसहरू भेला भएका थिए । गीत, वचन र प्रार्थना गरेर उहाँहरूलाई विदा गरियो ।

यसरी एघार जनाको समूहले आफ्नो जन्मथलोबाट बिदा लिएर अज्ञात देशमा आफ्नो पाइलो लम्कायो । रोबर्ट गुरुबा र उहाँको समूह सिलिगुरी, कटियार हुँदै रक्सौल आइपुग्यो । त्यो समयमा अहिलेको जस्तो स्थल मार्ग नभएकोले काठमाडौं हवाईजहाजबाटै आउनु पर्थ्यो । सिमराबाट उडेर सन् १९५६, मार्च ३ तारिखका दिन उहाँहरू काठमाडौं आइपुग्नु भयो । सबैको पहिलो हवाईयात्रा थियो । सुश्री फ्र्यांकलिन उहाँहरूलाई एयरपोर्टमा लिन भाडाको गाडी लिएर आएकी थिइन् र उहाँहरूलाई त्यहाँबाट लिएर उनले बन्दोबस्त गरेको घर भक्तपुरको लाखोलाँचे (कुमाले) टोलमा लिएर गइन् ।

नवीन परिवेश

नेपाल आइपुगेको पहिलो केही महिनासम्म आफ्नै सामाजिक परिधिभित्रबाट बाहिर निस्केर नौलो ठाउँ, परिवेश, अनुभवमा रहन रमाइलो साथै अनौठो पनि लाग्यो। झुण्डमा आएका सबै जना मिलनसार भएको कारण बसाइमा घरायसी याद, चिन्ता र त्यस्तो कुनै समस्या भएन । सबै जना मिलेर काम गर्ने, बस्ने, खाने गरियो । फ्यांकलिन दिदीले उहाँहरूलाई बस्न, खानका निम्ति सबै कुरा मिलाइदिएकी थिइन् । भक्तपुरमा मिसनेरीहरूले खोलेको सानो क्लिनिक थियो । त्यहाँ केही विदेशी नर्स मिसनेरीहरूले चलाउने गरेको संगतिमा उहाँहरू पनि जान लाग्नु भयो ।

काठमाडौं आइपुगेपछि रोबर्ट कार्थकलाई शिक्षक होइन, पास्टर बनाउन समूहले नै निर्णय गर्यो । त्यो कुरा पहिले पनि निर्धारण भइसकेको थियो । भक्तपुरमा बाल संगति सुरु गरे पनि अभिभावकहरूले आफ्ना छोराछोरीहरू पठाएनन् । कालिम्पोङको सफल सेवापछिको यो सुख्खा समय सबैको निम्ति निरासाजनक बन्यो । स्थानीय मानिसहरू पनि तिनीहरूसँग हेलमेल हुन डराउँथे । साह्रै मन थाकेर कहिलेकाहीँ त प्रार्थना गर्न पनि सक्दैनथे । फेरि मिस फ्र्यांकलिनको जीवन र उत्साहले सबैमा नवीन उत्साहको सञ्चार हुन्थ्यो । तर यो त सबैका लागि तालिमको समय रहेछ ।

नेपाली समाज पहिलेदेखि नै बाहिरी दुनियाँका लागि बन्द थियो । सीमिति परिधिभित्र रहेका कारण बाहिरबाट आएका जोसुकै किन नहोऊन्, सजिलै ग्रहण गरिने सम्भावना थिएन । गुरुबा र उहाँको समूहले विभिन्न ठाउँहरूमा गएर सुसमाचार प्रचार गर्न थाल्नु भयो । तर मानिसहरूले उहाँहरूको कुरामा त्यति चाख दिएनन् ।

उहाँहरूले स्कुल क्याम्पसमा पढ्ने विद्यार्थीहरूसँग सम्पर्क राखेर उनीहरूलाई अङ्ग्रेजी सिकाउने र त्यसको माध्यमबाट सुसमाचार सुनाउने कार्यक्रमहरू बनाउनु भयो । तर उनीहरू सम्पर्कमा आउन डराउँथे, अप्ठ्यारो मान्थे । सुरुको झण्डै एक वर्षसम्म सुसमाचारको निम्ति धेरै परिश्रम गर्नु भयो तर पनि उहाँहरूले कुनै मानिसलाई पनि प्रभुमा ल्याउन सक्नु भएन । त्यसका तत्कालीन कारणहरू ख्रीष्टियान विश्वासप्रति समाजको गलत धारणा, ख्रीष्टियान विश्वासलाई विदेशी धर्मको रूपमा हेर्नु, यसलाई अछूत सम्झनु आदि थिए । त्यसैले उहाँहरूलाई निरास लाग्न थाल्यो । त्यो ठाउँमा काम नहुने छाँट देखेर उहाँहरूलाई आफ्नै ठाउँ र आफ्नै मानिसहरूकहाँ गएर प्रभुको सेवा गर्ने इच्छा लाग्न थाल्यो तर परमेश्वरले उहाँहरूलाई ती परिस्थितिहरूको बीचमा बलियो गराउनु भयो । परमेश्वर आफैँले नै उहाँहरूलाई आफ्नो कामको लागि नेपाल ल्याउनु भएकोले उहाँको बाहुली सबैमाथि रहेको थियो । परमेश्वरले उहाँहरूलाई निरास, हतासमा गलत निर्णय गर्नबाट जोगाउनु भयो ।

सन् १९५६ कै अप्रिलमा गुरुबा रोबर्ट कार्थकलाई रामघाट मण्डलीका पास्टर डेविड मुखियाले बप्तिस्मा दिनु भएको हो । यो गुरुबाको दोस्रो बप्तिस्मा थियो । पहिले सानै उमेरमा दार्जिलिङमा लिएको बाल बप्तिस्मा हो। यो बप्तिस्मा उहाँको प्रेस्वीटरियन मण्डलीले स्वीकार गरेन ।

अब त पास्टर

भक्तपुरको आठ महिनाको बसाइपछि गुरुबा तथा उहाँको समूह काठमाडौंको डिल्लीबजारमा सर्नु भयो र संगतिको लागि जुद्धसडकमा भएको संगतिमा केही समयका लागि जान थाल्नु भयो ।

सन् १९५७ को सेप्टेम्वरको पहिलो आइतवार करिब १६ जनाबाट डिल्लीबजारमा नयाँ नेपाली संगति सुरु भयो, जुन हालको ज्ञानेश्वर मण्डलीको प्रारम्भिक स्वरूप थियो । मण्डली स्थापनाको प्रारम्भिक कालमा मण्डलीलाई निरन्तर रूपमा संचालन गर्दै लैजान केही प्रारूपहरू अवश्य तयार पार्नु पर्दथ्यो । उहाँहरूको अगाडि धेरै किसिमका विकल्पहरू थिए । त्यसकारण मण्डली संचालन गर्ने तरिका, स्वरूप नेपाली समाज र संस्कृति सुहाउँदो हुनु पर्ने सहमति भयो । असाम्प्रदायिक, मिसन र मण्डली अलग रहनु पर्छ भन्ने भावना भएको मण्डली हुनु पर्छ भन्ने कुरामा सहमति भयो ।

तत्कालीन यू.एम. एन. का मिसनेरीहरू, कालिम्पोङको झुण्ड र केरलाबाट आएकाहरूका विचमा मण्डली स्थापना गर्ने विषयमा निकै बहस र छलफल भयो । त्यो बेलामा एउटा वाक्य निकै प्रयोग गरियोः “हामी असहमत हुन सहमत भयौं” (ध्भ बनचभभम तय मष्कबनचभभ १) । यसरी नेइमको तयारी र सुरुवात भयो ।

यसरी नेपाली विश्वासीहरू, भारतको दार्जीलिङ, कालिम्पोङ र अन्य ठाउँहरूबाट आएका नेपाली भाषीहरू र यू.एम.एन.का केही मिसनेरीहरू गरी करिब १६ जना मिलेर नयाँ संगति स्थापना गरे । सो १६ जनामा कालिम्पोङबाट आएको एघार जनाको समूह, दफ्तन सादा, प्रकाश राई, पश्चिम नेपालकी स्व. ज्ञानी शाह र केही मिसनेरीहरू थिए । सन् १९५७ को अगस्त महिनामा डिल्लीबजारमा रोबर्ट र राजेन्द्रको परिवारले लिएको तीन वटा कोठामध्ये एउटालाई सेवा घरको रूपमा रूपान्तरित गरेर हालको नेपाली इसाई मण्डली (ज्ञानेश्वर मण्डली) को बीजारोपण गरियो । मण्डली स्थापना गर्ने बेलामा प्रेरितको पुस्तकलाई निकै अध्ययन गरियो । आइतवारको सेवाबाहेक त्यहाँ प्रत्येक बुधवार बेलुका प्रार्थना सभा हुने गर्थ्यो । पास्टरलाई मण्डलीले पारिश्रमिक दिन सक्ने अवस्था थिएन । उहाँ विश्वासमा निर्भर हुनुहुन्थ्यो । यसरी काठमाडौंमा दोस्रो मण्डली स्थापना भयो ।

यस्तो प्रक्रियामा सुरु भएको मण्डलीमा सबैले छलफल गरेर विभिन्न कुराहरू निर्धारण गरे । राजेन्द्र रोंगोंग सचिव, ज्ञानी शाह कोषाध्यक्ष र दफ्तन सादा र प्रकाश राई सदस्यमा निर्वाचित भए भने रोबर्ट कार्थकलाई पास्टर बनाइयो । सन् १९५७ को सेप्टेम्वर महिनाको पहिलो आइतवारदेखि नेपाली इसाई मण्डली (हालको ज्ञानेश्वर मण्डली) को नाममा आधिकारिक रूपमा मण्डली संचालन हुन थाल्यो । यसरी सुरुदेखि नै ज्ञानेश्वर मण्डली कसैको मातहतमा नरहेको तर स्वतन्त्र अस्तित्वमा रहेको छ ।

प्रस्तुत लेखको मूल स्रोत: “ख्रीष्टका प्रज्वलित सेवकहरू”

स्व. पास्टर रोबर्ट कार्थक गुरुबाप्रति समर्पित सुमधुर गीत सुन्न तलको लिंक खोल्नुहोस्
https://youtu.be/oiWb1FTJ7OU?feature=shared