काठमाडाैं। नागढुंगा-मुग्लिन सडक विस्तारको काम एक वर्षमा मात्र १५ प्रतिशत सकिएको छ।
विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा विस्तार कार्य भइरहेको उक्त सडकखण्ड एक वर्षमा ९५ प्रतिशत काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले गर्दा १५ प्रतिशत मात्र काम भएको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए। उक्त विस्तारको कामका लागि निर्माण कम्पनी शर्मा जेडआईसीजीसँग डिसेम्बर २०२२ मा सम्झौता भएको थियो।

इन्जिनियर आचार्यका अनुसार उक्त सडक निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ। उक्त सडक खण्डको मलेखु देखि मुग्लिन खण्डमा पुलको जग नाली पर्खाल बनाउने काम र मोड सुधारको काम भई रहेको छ ।

उक्त सडकको पश्चिम खण्ड मलेखुदेखि मुग्लिन सम्म ३९ किलोमिटर सडकको स्तरोन्नतीको काम भइरहेको छ। उक्त सडक २ लेनको भनिए पनि हाल ७ मिटर मात्र रहेको कारण अब ९ मिटर बनाउन लागिएको हो। उक्त सडक खण्डको बजार क्षेत्रमा ४ लेन र उकालोमा ट्रकको लागि छुट्टै लेन बनाउन लागिएको छ।