काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेका छन् । उनले यसको छनकस्वरुप सचिवालयका अधिकांश सदस्यहरुलाई बिदाई गर्दै राज्यलाई आर्थिक भार कम पार्ने प्रयास गरेका छन्। उनले एक वर्षको अवधि पछि सरकारका मन्त्रीहरुलाई कार्यसम्पादनको आधारमा परिवर्तन गर्ने संकेत पनि गरेका थिए।
सरकार गठन गरेको एक वर्ष पुगेपछि नया ढंगले अघि बढ्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता अनुरुप यही माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनपछि मन्त्रिमण्डल हेरफेर गर्ने बताइएको छ।
सरकारको काम कारबाही थप प्रभावकारी बनाउन मन्त्रिमण्डल समेत हेरफेर गर्ने बताएका दाहालले संसदको चौथौ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सरकारमा सामेल गराउने गृहकार्य गरिरहेका छन्। प्रधानमन्त्री नयाँ शक्तिका रुपमा उदाएको रास्वपालाई सरकारमा सहभागी हुन पटक पटक आग्रह गरेपनि रास्वपा भने ठोस निर्णय गर्न सकेको छैन ।
पार्टीका सभापति रवि लामिछानेसँग प्रधानमन्त्री दाहालले बारम्बार सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । तर रास्वपाले यस विषयमा आनाकानी गरिरहेको बालुवाटार स्रोत बताउँछ।
स्रोतका अनुसार प्रधानमन्त्रीले सभापति लामिछाने बाहेक रास्वपाका अन्यलाई सरकारमा पठाउन आग्रह गरिरहेका छन्। प्रधानमन्त्रीको सोही आग्रहले रास्वपा सरकारमा सहभागीताबारे अनिर्णित बनेको हो।
प्रधानमन्त्री दाहालले सरकारमा सहभागीताका लागि रास्वपासँग आग्रह गरेपनि सभापति लामिछानेले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हु्ने मनसाय प्रकट गरेपछि पार्टीमा सहमति हुन नसकेको बताइन्छ।
तर, रास्वपाका उपसभापति डिपी अर्यालले सरकारमा सहभागीताबारे दलमा औपचारिक छलफल नै नभएको बताउँछन् । उनले अहिले सरकारमा सहभागीता पार्टीको मूल एजेण्डा नै नरहेको जिकिर गर्छन्।
‘चौथो ठूलो दल भएकाले प्रधानमन्त्रीले सरकारमा सहभागीताका लागि आग्रह गर्नु स्वभाविक हो तर हाम्रो पार्टीमा यो विषय औपचारिक रुपमा उठेको छैन।’, उनले भने,”अहिले हाम्रो प्राथमिकता सरकारमा सहभागीता होइन। हामी संगठन विस्तार लगायत अन्य काममा छौं।”
उनले मुलुकका ज्वलन्त समस्याको समाधानका लागि सरकारलाई रचनात्मक सहयोग गरेको जनाउँदै सरकारमा सहभागीताको विषयमा पार्टीमा छलफल नै नभएको बताए। सरकारमा सहभागीताबारे पार्टीमा संस्थागत रुपमा छलफलका लागि कुनै औपचारिक प्रस्ताव प्रवेश नगरेको उपसभापति अर्यालले दाबी गरे।