बाइबलमा हेर्ने हो भने परमेश्वरको निम्ति सहिद भएका धेरै पात्रहरू हामी भेट्न सक्छौं। बाइबल बाहिर संसारमा पनि ख्रीष्टको खातिर सहिद भएका धेरै प्रभुका जनहरू छन्। ती सहिदहरू मध्ये आज हामी भारतमा प्रभुको सेवा गर्न गएका एक मिसनेरी परिवारको संक्षिप्त चर्चा गर्नेछौं। ख्रीष्टमा सहिद भएका ती मिसनेरी परिवार अष्ट्रेलियाली नागरिक डा. ग्राहम स्टेंस, उनका दुई छोरा तिमोथी, फिलिप थिए।
तिनै प्रभुका सेवक सहिद भएको २५ वर्ष पूरा भएको छ।
२३ जनवरी १९९९ को रात भारतको राज्य उडिसामा एउटा दर्दनाक घटना घट्यो। ग्राहम भारतकाे उडिसा राज्यको बारीपाडा भन्ने ठाँउमा कुष्ठरोग मिशनका निर्देशक थिए र त्यहाँको स्थानीय जातीको भाषामा नयाँ करारका अनुवादक थिए।
उनी मोनोहरपुर गाउँमा भएको १४औँ वार्षिक बाइबल शिविरमा सहभागी हुन गएका थिए । यात्रा लामो थियो र थकित हुँदै २३ जनवरी १९९९ को मध्यरात मा स्टेन्स आफ्ना दुई छोराहरू, १० वर्षिय फिलिप र ६ वर्षिय तिमोथीलाई काखीमा च्यापी आफ्नो जीपमा सुतिरहेका थिए। त्यही बेला भारतीय कट्टर हिन्दू बजरंग दलका सदस्य दारा सिंहकाे नेतृत्वमा करिब ५० जना भन्दा बढी हुल भाला, खुँडा, तरवार, बन्चरो , पेट्रोल लिएर आई एक्कासी जीपको झ्यालहरू फुटाए, जीपमा पेट्रोल खन्याएर आगो लगाए । यसरी मिसिनरी ग्राहम उडिसा राज्यमा ख्रीष्टको लागि जिउँदै सहिद भए । जलेको शव एक अर्कालाई अँगालो हालेको फेला परेको थियो । सुतिरहेका ग्राहम र छोराहरुलाई जिउँदै जलाए र हत्या गरियो ।
उनीहरू ख्रीष्टकाे लागि सहिद भएपछि उनकी श्रीमतीले आफ्ना श्रीमान् र छोराहरुलाई जिउँदै जलाउने सबै दोषीमाथि मुद्दा दायर नगरी आममाफी दिएर ख्रीष्टको खातिर उदाहरण बनिन् । उनले भनिन्, “किनकि उहाँ जीवित हुनुहुन्छ,त्यसैले म भोलिको सामना गर्न सक्छु।” उनकी १२ वर्षीय छोरी एस्तरले भनिन्,” यदि गहुँकाे दाना माटोमा परेर मरेन भने, त्यो एक्लै रहन्छ, तर त्यो मर्यो भने धेरै फल फलाउने छ।”
५८ वर्षीय डा. ग्राहम स्टेन्सको मृत्युले भारतमा गहिरो प्रभाव पारेको थियो । स्टेन्सले आफ्नो जीवनको ३५ वर्ष भारतका गरिब र अशिक्षितहरू र कुष्ठरोगीहरुको उपचार र सहयोग गरी बिताएका थिए।
डा. ग्राहम ख्रीष्टियन संसारमा एक ज्योतिर्मय इतिहास बनेर रहनेछन्।
अन्जन घले