चिनिया कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग बिदेश उपमन्त्री सुन हेयानको नेतृत्वमा चीनको प्रतिनिधिमण्डल नेपाल आएको छ । सो क्रममा चिनिया प्रतिनिधिमण्डलले नेपालका सबैजसो राजनितिक दलका नेतासंग सयुंक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विदेश उपमन्त्री हेयानले नेपालले व्यावसायिक वातावरण सुधार गर्न जरुरी रहेको बताइन् । उनले नेपाल आउनुअघि चीनका व्यवसायीसँगको छलफलका क्रममा नेपालको व्यावसायिक वातावरण र व्यावसायिक नीति अस्थिर रहेको जानकारी पाएको बताइन् । चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहे पनि नेपालको नीतिगत अस्थिरताका कारणले लगानी गर्न असक्षम रहेको उनको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी लगायत राजनीतिक दलका नेताको सहभागिता थियो ।

यसै सन्दर्भमा नेपालका नेताहरू आन्तरिक कलहमा रमाइरहेको विषय समेत चिनियाँ प्रतिनिधिमण्डलले उठाएको छ । उनीहरुले नेपालका नेताहरू आन्तरिक कलह र झैँ झगडामा रमाउने गरेको र त्यसबाट देशको विकासमा प्रत्यक्ष असर परेको चिनियाँ प्रतिनिधिमण्डलको भनाई थियो । यस बिषयमा जवाफ फर्काउँदै यो नेपालको आन्तरिक विषय भएको कुरा नेपालका नेताहरूले बताएका छन् ।