काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी हेडक्वार्टरमा ‘काज’गर्न बोलाएको छ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले गृह मन्त्रालयलाई पत्र लेखेपछि सोही आधारमा उनलाई ‘काज’गर्न बोलाएको हो।
प्रहरीका एक जना उच्च अधिकारीका अनुसार डिआईजी चन्दले राजीनामा दिएर बसे पनि उनको राजीनामाको प्रक्रिया नपुगेकाले राजीनामा स्वीकृति अगाडि नबढाइएकोले चन्दलाई ‘काज’ गर्न बोलाइएको हो। उनी भन्छन्, “राजीनामा पत्र फर्म्याटमा ल्याउन भनेर उहाँलाई नै फिर्ता गरेका छौँ ।”
प्रहरी प्रधान कार्यालयले राजीनामा पत्र चन्दलाई नै फिर्ता दिएपछि उनले १० दिनको बिदा लिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिको सिफारिसप्रति डीआईजी चन्द असन्तुष्ट भएपछि उनले राजीनामा दिएका थिए।