काठमाडौँ । परराष्ट्रमन्त्री एन। पी. साउद आज अष्ट्रेलिया भ्रमणमा जाँदै छन्।
अष्ट्रेलियाको पर्थमा अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त कार्यक्रममा मंत्री साउदले सम्बोधन गर्नुका साथै अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग पनि द्विपक्षीय भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
यसैगरी उनी पर्थबाट न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय भेटवार्ताका लागि फागुन २ गते वेलिङ्टन तर्फ प्रस्थान गर्नेछन्। उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबिच दोस्रो परामर्श बैठक हुनेछ ।
मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।