बारा । निजगढ नगरपालिका भित्र रहेका खोलाहरूको उत्खनन्का निम्ति ठेक्का लाग्नु अघि नै अवैध ढंगले चोरी तस्करी बढेको पाइएको छ भने स्थानीयको गुनासोपछि प्रशासनले अनुगमन तीव्र पारेको जनाइएको छ।

जिल्ला समन्वय समिति, स्थानीय प्रहरी, प्रशासन, डिभिजन वन कार्यालयका प्रतिनिधिहरूले निजगढको लाल बकैया र बकैया खोला खोलाको मङ्गलवार साँझ अनुगमन गरेका हुन् ।

जिल्ला अनुगमन समितिले लाल बकैया र बकैया खोलाको अनुगमन गरेको थियो ।

निजगढ नगरपालिकाले खोला ठेक्का लगाउनु अगावै क्रसरहरूले अवैध ढङ्गले उत्खनन गरी थुपारेको नदीजन्य पदार्थलाई घाट गद्दी प्रमाणित गरेर वैद्य बनाउँदै आएको छ । जसका कारण सङ्घीय र प्रदेश सरकारको राजस्व मरेको छ भने पालिकाले प्रतिघनफिट ९ रुपैयाँ ४० पैसाको दरले अवैध ढङ्गले राजस्व उठाएको छ ।

टोलीले अनुगमनको क्रममा नेपाल क्रसरले खोला र वस्तिबिच लगाइएको ड्याम अवैध ढङ्गले खनेको भेटिएपछि तत्काल कारबाही गर्न नगरपालिकालाई दबाब दिएको छ ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका उपसभापति, निजगढ नगरपालिकाका नगरप्रमुख, सुरक्षा निकायका प्रमुखहरू, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, डिभिजन वन कार्यालय बाराका अधिकृत लगायतको उपस्थिति रहेको थियो ।