काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका हुन् ।
महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बताउँदै भने, “संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो।” उनले काठमाडौँमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौँलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
उनले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आम गुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे। उनले भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने बताउँदै ‘दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन’भने ।
महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताए । कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौँका जनताले पार्टीले गरेको मूल्याङ्कनका आधारमा निर्णय लिने गरेको स्मरण गरे ।
उनले वि.सं २०४८ सालपछि नेपालमा धेरै विकास भएको उल्लेख गरे । “आम जनताको गुनासो छ, देशमा सुशासन हुन सकेन, भ्रष्टाचार नियन्त्रण हुन सकेन भन्ने छ, त्यसलाई कांग्रेसले गम्भीर भएर सोच्नुपर्छ”, उनले भने ।