काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिएकी छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा मन्त्री शर्माले उक्त प्रतिवेदन हाल मन्त्रिपरिषद्मा रहेको र अध्ययन भइरहेको भन्दै कार्ययोजना बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिइन्। उनले छानविन समिति मन्त्रिपरिषले बनाएको भन्दै प्रतिवेदन सार्वजनिक गर्ने क्षेत्राधिकार आफ्नो मन्त्रालयको नभएको बताइन्।

त्यस्तै मन्त्री शर्माले टेरामक्स र एमडीएमएस खरिदका विषयमा छानविन गर्दै कारवाही गरिने जिकिर गरिन्। संविधान र कानूनभन्दामाथि कोहि नरहेको भन्दै उनले टेरामक्सको छानविनलाई प्रभाव पार्ने काम नगरेको स्पष्ट पारिन्। उनले यससम्बन्धी कागजात छिटै समितिमा उपलव्ध गराउने बताइन्।

बैठकमा समिति सदस्य सुमना श्रेष्ठले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने धारणा राखिन्। उनले टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मागेको एक हप्ताबितिसक्दा पनि समितिमा उपलब्ध नगराएको भन्दै आपत्ती जनाइन्।

त्यस्तै बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा दफावार छलफल भएको थियो ।