काठमाडाैं। वीर अस्पतालको औषधि पसलले अधिकांश औषधि किन्न बाहिर पठाउने गरेको खुलासा भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधि पसलमा रहेका औषधिहरु पनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो।

अस्पतालभित्र रहेका दुई ओटा औषधि पसलले अधिकांश औषधि नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।
अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधि स्टोरमा रहेको पाइएको थियो।
स्वास्थ्य मन्त्री बस्नेतले १५ दिनभित्र वीर भित्रको फार्मेसी विस्तार गरि सवै प्रकारका औषधि राख्न निर्देशन दिएका थिए। त्यस्तै अनुगमन टोलीले अस्पतालबाहिरको दुई ओटा औषधि पसलको अनुगमन गर्दा मापदण्ड विपारीत पाइएपछि सिल गर्न निर्देशन दिएको छ।

अस्पतालबाहिरको उपकार सेवा फामेर्सी र सत्यम फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महङ्गोमा बिक्री गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिए।
उनले औषधि पसललाई सुधार गर्न निरन्तर अनुगमन गरिने बताए।