भरतपुर : चितवनस्थित बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालमा कार्यरत बाल क्यास्नर रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा क्यान्सर रोग लागेका बालबालिकामध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिएका छन् । उनले भने, “नेपालमा वर्षेनी करिब एक हजार पाँच सयजना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँदछन् । अस्पताल आउनेमध्ये बिपी कोइराला अर्बुद अस्पतालमा चार सयको हाराहारीमा मात्र छन् । ”

अस्पतालद्वारा क्यान्सर भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उहाँले भरतपुर अर्बुदअस्पताल आएका ६० प्रतिशत बालबालिकालाई क्यान्सर निको हुने गरेको जानकारी दिए । उनका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ । तर निको हुने दर बढाएर ८० प्रतिशत पु¥याउन सकिने उनको भनाइ छ । “अहिले अभिभावकमा चेतनाको कमी छ । आधा बिरामी त अस्पताल नै आउँदैनन् । आएका पनि उपचार प्रक्रिया पूरा नगरी बीचमै छोड्छन्”, उनले भने, “अस्पतालमा शय्याको सङ्ख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल अर्बुदलाई न्यूनीकरण गर्न सकिन्छ ।”

विश्व बाल अर्बुद दिवसका अवसरमा आयोजित सो कार्यक्रममा अभिभावकबीच जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो । नेपालमा बालबालिकाको क्यान्सर रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ राष्ट्रका रुपमा समेत सूचीकृत गरेको छ । सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ ।

सरकारले एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । डा पौडेलका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावका कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् । नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन् । कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिव पौडेल, उपनिर्देशक डा उमेश नेपाल, अभिभावक तथा बिरामीहरुको उपस्थिति रहेको थियो ।
—रासस—