काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग भिड्दै छ।

फाइनल खेल नेपाली समय अनुसार राती ९ः४५ बजेदेखि जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सुरु हुदैँछ ।

नेपालले सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

जोर्डन तुलनात्मक रुपमा नेपालभन्दा बलियो टिम हो । फिफाको महिला फुटबलको वरियतामा जोर्डनको ७४औं स्थानमा रहेको छ भने नेपालको १०५ औं स्थान रहेको छ। जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि विजेता राष्ट्र हाे ।

साम्बाले फाइनल नखेल्ने

सावित्रा भण्डारी ‘साम्बा’ले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।

एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा विहिबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको हाे। फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।