सिड्नी: अवर्न नेपाली समाजद्वारा विद्यार्थीका निम्ति अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ।

सिड्नी/अवर्न कम्बरल्यान्ड काउन्सिल हलमा शनिबार सो कार्यक्रमको आयोजना गरिएको हो। विभिन्न क्षेत्रका व्यक्तिहरू र विद्यार्थीहरूको जिज्ञासा, समस्यालगायत विभिन्न विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो आयोजक समितिले जनाएको छ।

अष्ट्रेलियामा समय-समयमा आप्रवास नीति परिवर्तन भइरहने र यसबाट विद्यार्थी प्रत्यक्ष रूपमा प्रभावित हुने भएकाले यसबाट आप्रवासी विद्यार्थीहरू अनभिज्ञ नहोऊन् साथै घरेलु हिंसा र यसका कानुन, ट्राफिक नियम, र जल सुरक्षाजस्ता विषयहरूमा पनि विद्यार्थीले जानकारी हासिल गर्न सकून् भन्ने उद्धेश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो।

सो अन्तर्क्रियात्मक कार्यक्रममा अवर्न प्रहरीका वरिष्ठ प्रहरी अधिकारी जेम्स डिक्सन र मून लू, मानसिक स्वास्थ्य विशेषज्ञ भरत नेपाल, रजिस्टर्ड माइग्रेशन एजेन्ट ठाकुर पोखरेल र युवराज उप्रेतीलगायतले उल्लेखित विषयमा जानकारी प्रदान गर्नुभएको थियो।

यसैगरी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अवर्न नेपाली समाजले आयोजना गर्ने यस्ता किसिमका कार्यक्रमहरूद्वारा समुदायको हित गर्नुपर्नेमा जोड दिंदै एनआरएनएको सधैं साथ र सहयोग रहने पनि बताउनुभयो।

कार्यक्रममा नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठानका बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहभागी अतिथिहरू र अवर्न नेपाली समाजका टिमलाई अध्यक्ष जितेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रम अवर्न नेपाली समाजले आयोजना गरेको थियो।