चितवन : चितवनमा एक हजार सात सय ७१ जनामा डेंगी सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगी सङ्क्रमण देखिएको हो ।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा सो रोगको सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेंगी सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका रहेका छन् । ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेंगी सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो ।
यस्तै, ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका तीन सय ६५ जनामा डेंगी सङ्क्रमण देखिएको छ । एक जनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताउनुभयो ।
सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेंगी देखिएको छ । खैरहनी नगरपालिकामा एक सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा दुई सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।
डेंगी रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो । यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिनुभयो ।