काठमाडौँ उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए
काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार हालसम्म आठ लाख यात्रु दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिसकेका छन्। महासंघले यस वर्ष १० लाखको आसपासमा यात्रु बाहिरिने अनुमान गरेको छ।
महासंघका अध्यक्ष विजय स्वारले यस वर्ष दशैंमा १५ देखि १८ लाख यात्रु उपत्यका छोड्ने अपेक्षा गरिएको भए पनि बाढी र पहिरोका कारण सडकमा अवरोध भएकोले अपेक्षाभन्दा कम यात्रु बाहिरिएको जानकारी दिए। “सडक अवस्था राम्रो छैन, यात्रुहरू कठिनाईपूर्ण यात्रा गरिरहेका छन्,” उनले भने। उपत्यका बाहिर घर भएका थुप्रै मानिसले यस वर्ष काठमाडौँमै दशैं मनाउने योजना बनाएका छन्, र केहीले हवाईमार्गको प्रयोग पनि गरेका छन्।
उनका अनुसार दशैंको लागि उपत्यका छोड्ने क्रम शुक्रबारसम्म जारी रहने भएकाले कुल कति यात्रु बाहिरिने भन्ने अन्तिम तथ्यांक आउन अझै बाँकी छ। “आज पनि यात्रुहरू बाहिरिरहेका छन्, यो क्रम साँझसम्म जारी रहन्छ, र शुक्रबार पनि केही यात्रु बाहिरिनेछन्,” स्वारले भने।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैंको समयमा आवतजावतको चाप बढ्ने भएकाले सडक दुर्घटना रोक्न राजमार्गहरूमा कडाइका साथ चेकजाँच भइरहेको जानकारी दिए।