Bhairahawa airport

देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन्। लामो समयसम्म निर्माण पूरा भए पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सुरु गर्न लागेका हुन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा एयर, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्डको थाई एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएका छन्। यी तीनवटै एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरिसकेका छन्, र विमानस्थलले त्यसअनुसार उडान तालिका बनाएको छ।

फ्लाई दुबईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ। यो कम्पनीको पहिलो उडान हुनेछ। हप्तामा सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्नेछ।

महाप्रबन्धक तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ बजे दुबईबाट भैरहवा आइपुग्ने र ३ः३० बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जानेछ। फ्लाई दुबईको प्राविधिक टोलीले हालै गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको छ र सेवासुविधाका बारेमा जानकारी लिएको छ, जसअनुसार तयारीका कार्यहरू अघि बढिरहेका छन्।

जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सुरु गर्दैछ। यसअघि १० महिना उडान सञ्चालन गरेर रोकिएको जजिरा एयरले पुनः सोही विमानस्थलबाट उडान गर्ने योजना बनाएको हो। जजिराले हप्तामा तीन दिन मङ्गलबार, बिहीबार, र शनिबार उडान गर्नेछ। जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आइपुग्नेछ र ८ बजेर ३० मिनेटमा कुवेत उड्नेछ। दुई वर्ष अघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएपछि जजिराले भैरहवामा उडान सुरु गरेको थियो, तर प्राविधिक कारणले उडान स्थगित गरेको थियो।

फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान गर्ने योजना बनाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो। विमानस्थलको उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा स्थानीय निजी क्षेत्र निराश भएका थिए। सुरुमा जजिरा एयरले उडान सुरु गरे पनि केही समयपछि स्थगित भएको थियो। अहिले कुवेतको जजिरा एयरवेजले पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ।

त्यसैगरी, थाई एयर एशियाले पनि चाँडै गौतमबुद्ध विमानस्थलमा उडान सुरु गर्ने योजना बनाएको छ। हालै थाई एयर एशियाको प्राविधिक टोलीले विमानस्थलको भ्रमण गरेको थियो। महाप्रबन्धक तिवारीका अनुसार टोलीलाई विमानस्थलका लक्ष्यहरू, उडान सञ्चालनका आधारहरू, बजार विश्लेषण, र अन्य फाइदाका बारेमा विस्तृत जानकारी गराइएको थियो। तथापि, यो एयरलाइन्सले कहिलेदेखि उडान सुरु गर्ने भन्नेबारे निर्णय भएको छैन।

यही असोज १६ गते थाई एयर एशियाले नेपालमा सिधा उडान सुरु गरेको थियो, र अब गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्ने योजना छ। एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्वपूर्ण गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ। नेपाल र थाइल्याण्डबीच पर्यटनलगायत विभिन्न हिसाबले सम्बन्ध जोडिएको छ। हरेक वर्ष ४० हजारभन्दा बढी थाई पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन्। नेपालबाट पनि थाइल्याण्ड जाने पर्यटकहरूको संख्या उल्लेखनीय छ। थाई एयर एशियाका सीईओ शान्तिसुक क्लोडचैयाले नेपाल र थाइल्याण्डबीचको हवाई सम्पर्क सञ्जालले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

महाप्रबन्धक तिवारीका अनुसार सरकारको योजना अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको हो। ‘सरकारको कार्ययोजना अनुरुप, मैले विमानस्थलको जिम्मेवारी सम्हालेपछि अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन विशेष पहलकदमी सुरु गरेको छु,’ उनले भने। विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थाहरू तयार अवस्थामा रहेको छ।

गौतमबुद्ध विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद ढुङ्गानाका अनुसार जजिरा एयर र फ्लाई दुबईले छिट्टै उडान गर्ने भएकाले आवश्यक तयारी भइरहेकाछन्। उनले भने, ‘हामी तयारी अवस्थामा छौँ, प्राविधिक जनशक्ति व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमा ताकेता गरिएको छ। यात्रुलाई सहज सेवा दिनका लागि सबैखाले तयारी गरेका छौँ।’

अध्यागमन र भन्सारलगायतका सबै निकायहरूले विमानस्थलको सञ्चालनका लागि तयारी गरिसकेका छन्। विमानस्थलमा २१ वटा यात्री सेवा काउन्टर छन्, केही प्राविधिक पक्षहरू अझै व्यवस्थापन गर्न बाँकी छ।

‘काठमाडौँ विमानस्थल मर्मतको क्रममा, गौतमबुद्ध विमानस्थलमा भविष्यमा उडान संख्या बढ्न सक्छ। अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएका छन्,’ उनले थपे।

सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ। एयरलाइन्सलाई विभिन्न सेवामा सहुलियत दिने आकर्षक प्याकेज घोषणा गरिसकेको छ।

गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो। सरकारको योजना अनुसार, हवाई इन्धनदेखि टिकटसम्म सहुलियत दिने निर्णय गरिसकेको छ। दुवै विमानस्थलको प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा विभिन्न चरणमा बैठकहरू भएका छन्, र अध्ययनबाट प्राप्त सुझावहरूको आधारमा सहुलियत दिनेबारे छलफल भइरहेको छ।