काठमाडौँ- बिहीबार ज्ञानेश्वरस्थित नेइम ज्ञानेश्वर चर्चको हलमा नेपाली सांगीतिक क्षेत्रमा एक ऐतिहासिक कार्यक्रम सम्पन्न भयो। इसाई साहित्य तथा संगीत क्षेत्रका अग्रज स्रष्टा लोकनाथ मनेनको शब्द र धुनमा गाइएको ४० मिनेट लामो क्यानटाटा ‘माया त्यो स्वर्गीय १९८४’ मा स्वर दिन गायक राजु तामाङ अग्रस्थानमा थिए भने एकैसाथ ५० जनाभन्दा बढी क्वायरले गीत गाएका थिए।
उद्घोषिका ग्रेस खालिङले सुरु गर्नुभएको कार्यक्रममा विभिन्न साहित्यिक र सांगीतिक व्यक्तित्वहरूले आसन ग्रहण गर्नुभएको थियो। त्यसैगरी स्रष्टा लोकनाथ मनेनलाई आदरणीय पास्टर रोल्यान्ड रोङगङले खदा ओडाई र आदरणीय पास्टर अशोक मुखियाले अभिनन्दन पत्र दिई अभिनन्दन गर्नुभएको थियो। सोही अवसरमा इसाई साहित्य तथा संगीतका क्षेत्रमा योगदान पुर्याएका विभिन्न साहित्यकारहरूलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले सम्मान गरे।
प्रमुख अतिथि कुलपति राईले इसाई साहित्य र संगीतले नेपाली भाषा र साहित्यलाई माथि उठाउनुका साथसाथै क्यानटाटा र क्वायर जस्ता आधुनिक र विशिष्ट शैली भित्र्याउन योगदान दिएको कुरा बताए। उनले भने, ” नेपाल प्रज्ञा प्रतिष्ठान सबै धर्म , जात , भाषा , क्षेत्र , समुदायको साझा प्रतिष्ठान हो। त्यसमाथि नेपाली साहित्य र संगीतलाई माथि लैजान ईसाई क्षेत्रको साहित्यले पुर्याएको योगदान हामीले भुल्न मिल्दैन।”
त्यसै गरी अतिथि कवि श्रवण मुकारुङले शुभकामना मन्तव्य दिँदै ईसाई साहित्य र संगीतले नेपाली समाजमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले भने, ” नेपाली संगीतमा क्यानटाटा ही विरलै सुन्न पाइन्छ। त्यसमा पनि यसरी सयौं कलाकारले लाइभ गाएर प्रस्तुति गरिएको क्षण नेपाली संगीत इतिहासमा एकाध पटक मात्र भएको छ। ”
‘ युनाइटेड नेपाली रिभाइभल चर्च बेलायत ‘ र ‘ भिनयार्ड स्टुडियो ‘ को आयोजनामा भएको यस ऐतिहासिक कार्यक्रममा वरिष्ठ संगीतकार कर्म योन्जन, पूर्ण नेपाली, प्रकाश गुरुङ, ओमविक्रम बिष्ट, राजु सिंह, योगेश्वर अमात्य, गायिका सुक्मित गुरुङ, धनुषा घले, चलचित्रकर्मी प्रकाश सायमी तथा कविहरू अमरदीप सुनुवार, मिथोच लगायतको उपस्थिति थियो।