रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज बिहीबार सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहान ९ बजे गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको जनाएको छ।
कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको थियो। उक्त निष्काशनमा २७ लाख २३ हजार ९१४ जनाले आवेदन दिएका थिए। जसमध्ये २५ लाख ३७ हजार ३०१ जनाको आवेदन मात्र योग्य ठहरिएको क्यापिटलले जनाएको छ।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख १८ हजार २६ जनाले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी आवेदक भने शेयर पाउनबाट वञ्चित भएका छन्। आईपीओको आधिकारिक नतिजा केही समयपछि सार्वजनिक गरिने जनाइएको छ।
नेपाल धितोपत्र बोर्डले मंसिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० माघदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। साथै, कम्पनीले ११ मेगावाट क्षमताको दुधपोखरी चेपे जलविद्युत आयोजनामा समेत लगानी गरेको छ।
कम्पनीका अध्यक्ष डा. बसन्त गिरी रहेका छन्। अन्य सञ्चालकहरूमा प्रदीप राज गिरी, नारायण कंडेल, दीपेन्द्र हमाल, प्रतिमा तिवारी र अशोक कुमार खड्का रहेका छन् भने डा. विनोद पोखरेल स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छन्।
यस कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता तथा मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ।












