काठमाडौं। नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ।
सो भेटवार्तामा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा यो सम्बन्ध अझै घनिष्ठ र प्रगाढ हुने विश्वास व्यक्त गरे।
काठमाडौँस्थित चिनियाँ राजदूतावासमा भएको सो भेटमा दुई देशबीच कानुनी अभ्यास, नवीनतम सूचना तथा प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको स्रोतले जनाएको छ।
नेपाल बार एसोसिएसनको अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्व रहेको प्रतिनिधिमण्डलमा उपाध्यक्ष हर्कबहादुर रावल, महासचिव अन्जिता खनाल, कोषाध्यक्ष भरत राउत, सचिव अभरत लकाइ, केन्द्रीय सदस्य निर्भयराज पौडेल र परियोजना संयोजक सरिता सापकोटा पनि सहभागी थिए।