काठमाडौँ: संस्कार समाज नेपालले विभिन्न पाँच विधामा पुरस्कारको घोषणा गरेको छ । विभिन्न क्षेत्रमा आबद्ध रही समाज र राष्ट्रलाई योगदान दिँदै आएका व्यक्तिलाई पुरस्कार तथा सम्मान गरिने छ ।

संस्कार समाज नेपालले वैदेशिक रोजगारीका क्रममा अनेकन समस्या भोग्न बाध्य नेपालीलाई उद्धार गर्न क्रियाशील वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेलाई ‘संस्कार मानवसेवा सम्मान–२०८०’ प्रदान गर्ने निर्णय गरिएको संस्थाका सचिव प्रकाश समिरले जानकारी दिनुभयो । यस्तै ‘संस्कार जनसेवा सम्मान–२०८०’ ग्रिनसिटी अस्पतालकी आर्थिक निर्देशक रेणुका गुरुङलाई तथा ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति सिर्जना पुरस्कार–२०८०’ वरिष्ठ समालोचक राजकुमार बानियाँलाई प्रदान गरिने भएको छ ।

यसैगरी ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०८०’ राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता अच्युत रेग्मी र ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति समाजसेवा पुरस्कार–२०८०’ वरिष्ठ समाजसेवी मनि लामालाई प्रदान गर्ने निर्णय भएको सचिव समिरले बताउनुभयो । ती सवै पुरस्कार तथा सम्मान संस्कार समाज नेपालको छैटौँ वार्षिकोत्सव तथा साधारणसभाका अवसरमा यही चैत २ गते प्रदान गरिनेछ ।

समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनका चालकलाई एक हजार थान पेनड्राइभ र पाँच सय थान डस्बिन वितरण गरेको
थियो ।